Sanjeev Thapa, Chairman, Nepal Red Cross Society

मेरो रेडक्रस कथा
उच्च शिक्षा अध्ययनपश्चात् केही समय आफ्नो जिल्लामा सेवा गरौँ भन्ने सोचका साथ उपयुक्त संस्था खोजिरहेको थिएँ । यसै क्रममा साथीहरूबाट थाहा पाएँ कि मेरा पूर्वपरिचित आदरणीय व्यक्तित्व स्वयम्भूलाल श्रेष्ठ नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्य हुनुहुँदो रहेछ । म उहाँसँग भेट्न जाँदा उहाँले रेडक्रसको बारेमा केही जानकारीहरूमलाई दिनुभयो । त्यसमध्ये पनि अन्तर्राष्ट्रिय रेडक्रस अभियानमा जँ हेनरी ड्यूनाले खेलेको महत्वपूर्ण भूमिकाका विषयले मलाई छोयो । स्वयम्भूलालजीबाटै म रेडक्रसमा लाग्न अभिप्रेरित भएँ र उहाँकै प्रेरणाबाट नेपाल रेडक्रसको सदस्यता पनि ग्रहण गरेँ । यो वि.सं २०३९ सालतिरको कुरा हो । सोही दिनबाट मेरो रेडक्रस जीवनको औपचारिक यात्रा शुरु भयो ।   

उहाँ एकचालीस सालतिर उपाध्यक्ष तथा पूर्वाञ्चल क्षेत्रीय संयोजकको हैसियतले उदयपुर जिल्लामा रेडक्रसको तदर्थ समिति गठन गर्ने शिलशिलामा आउनुभएको थियो । तदर्थ समितिमा म पनि सदस्यमा मनोनयन भएँ । उक्त तदर्थ समितिको मुख्य जिम्मेवारी सङ्गठन विस्तार एवं जिल्ला शाखा गठन गर्नु थियो । वि.सं. २०४२ सालमा विधिवत् रूपमा जिल्ला शाखाको गठन भई म उदयपुर जिल्लाको पहिलो निर्वाचित सभापति हुने मौका पाएँ । 
वि.सं २०४५ सालमा उदयपुर नै केन्द्रविन्दु रहेर गएको भूकम्पको कारण धेरै जनधनको क्षति भयो । रेडक्रस सभापतिको हैसियतले सक्रिय रूपमा गाउँगाउँमा गई विपद् प्रभावितहरूलाई राहत सहयोग गर्दा मलाई यसैबाट आत्मिक सन्तुष्टि मिल्यो । मैले मानवीय सेवाका विविध गतिविधिहरूमा झण्डै तीस वर्षभन्दा बढी उर्वर समय विताएको छु । मलाई आजसम्म पनि उर्जाशील ढङ्गले लागिरहन प्रेरित गरेको छ ।

सञ्जीव थापा, उदयपुर